अन्तरास्ट्रिय

भारतमा एकैदिन १ लाख ६० हजारभन्दा बढीमा कोरोना

भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५ लाख ८० हजार ३८७ सक्रिय संक्रमित रहेका छन् । यो अहिले बढेर १२ लाख ५८ हजार ९०६ पुगेको छ । सोमबार ६२ हजार ९४६ जना सक्रिय संक्रमित थपिएका थिए ।

भारतको राँचीमा कोरोनाका कारण निम्तिएको मृत्युदरले सबै रेकर्ड तोडेको छ । पछिल्लो १० दिनमा राँचीको घाट र समाधि स्थलमा शवको संख्यामा अत्यधिक वृद्धि भएको छ । आइतबार सर्वाधिक ६० शवको अन्तिम संस्कार भएको छ ।

यीमध्ये १२ शव कोरोनाद्वारा संक्रमित थिए जसको दाह संस्कार सामूहिक चिता सजाएर गरियो । यसबाहेक ३५ शवलाई पाँचवटा समाधि स्थलमा जलाइयो र १३ शवलाई रातू रोडको कांटाटोली समाधि स्थलमा गाडियो । सबैभन्दा धेरै शवको दाह संस्कार हरमू मुक्ति धाममा भयो ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार मृतकको संख्यामा यति धेरै वृद्धि भएको छ कि मुक्तिधाममा शव जलाउनका लागि ठाउँ कम भएको छ । मानिसहरुले घण्टौं प्रतीक्षा गरे तरपनि स्थान पाउन सकेनन् । त्यसैले खुल्ला रुपमा नै चिता सजाएर शव जलाउन थाले । समाधि स्थलमा ठाउँ नपाएका कारण मुक्तिधामको अगाडि सडकमा पार्किङस्थलमा नै शव राखेर अन्तिम संस्कार गर्न थालियो ।

शव जलाउनका लागि अब मानिसहरुको निगम–प्रशासनसँग गुहार माग्नु परिरहेको छ । मोक्षधाममा विद्युतीय शवदाहको मेसिन खराब हुँदा मारवाडी सहायक समितिका पदाधिकारीलाई फोनमा अन्तिम संस्कारको व्यवस्था चाँडै गराउन आफन्तहरुले याचना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *