समाचार

दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण

दाङ – दाङमा २१ दिने शिशुमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा आज (सोमवार) गरिएको पीसीआर परीक्षणमा घाेराही उपमहानगरपालिका १५ का २१ दिने शिशुमा सङ्क्रमण देखिएको हो । साेमवार नै वडा नम्बर १५ कै एक महिने अर्का शिशुसहित ६० जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा दुई सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा दुई सय एक जनामा पोजेटिभ देखिएको हो । सङ्क्रमित हुनेहरूमा घोराही र तुलसीपुरका धेरै छन् । योसँगै दाङमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक हजार आठ सय नाघेको छ । अहिलेसम्म दाङमा कोरोनाबाट ८१ जनाकाे ज्यान गएकाे छ ।

यो पनि, मोरङमा सङ्क्रमणबाट पाँचको मृत्यु
कोरोना सङ्क्रमणबाट मोरङमा आज पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।

प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताउनुभयो ।

बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *