समाचार

केपीले रोकेका कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश गरेका छन् । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिए । उनले भने प्रधानमन्त्रीबाट निर्देशन भएको छ अब एक/ दुई दिनमा प्रक्रिया शुरू हुन्छ ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्। स्रोतका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। ‘उहाँले नेपाल सरकारसँग कार्यसम्पादनको करार गर्नुभएको छ। त्यहीअनुसार काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोध्न सक्छ,’ स्रोतले भन्यो,‘स्पष्टीकरण चित्त नबुझे सरकारले उहाँलाई हटाउन सक्छ।’

विगतमा लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आएका घिसिङ एक वर्ष अघि चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारीबाट अवकाश भएका थिए । अघिल्लो सरकारले उनको स्थानमा हितेन्द्रदेब शाक्यलाई नियुक्त गरेका थिए ।

उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक बनाउन माग गर्दै त्यतिबेला सडक प्रदर्शनसमेत भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *